समाचार
ठाकुरबाबा नगरपालिकाको परिचय
लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ। २८ डिग्री २३ मिनेटदेखि २८ डिग्री २३ मिनेट उत्तरी अक्षांशसम्म र ८१ डिग्री ११ मिनेटदेखि ८१ डिग्री १९ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल १०४.५७ वर्ग किलोमिटर र जनघनत्व ५३४ रहेको छ। प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको जनसङ्ख्या वि. सं. २०७६ सालमा गरिएको खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजनाको घरधुरी सर्वेक्षणअनुसार ५७,२०५ (पुरुषः २८,८६० र महिलाः २८,३४४) रहेको छ भने कुल घरधुरीको सङ्ख्या १०,४५४ रहेको छ। समुन्द्र सतहबाट सरदर १७५ मिटरको उचाईमा रहेको यस नगरपालिकाको औषत न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको छ भने औषत वार्षिक वर्षा ११२० मिलिलिटर हुने गरेको छ। जिल्ला सदरमुकाम गुलरियाबाट २२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस नगरपालिका पूर्व-पश्चिम राजमार्ग तथा हुलाकी मार्गसँग जोडिएको छ। यस नगरपालिका अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रहरु भुरिगाउँ, बगनाह, शाहीपुर, बकुवा तथा ठाकुरद्वारा रहेका छन्।
वि सं २०७३ साल फाल्गुण २७ गते यस नगरपालिकाको स्थापना भएपछि करिब पाँच महिना प्रमुख प्रशासकीय अधिकृतले नै कार्यकारी प्रमुखको रुपमा कार्य गरेको देखिन्छ । वि. सं. २०७४ साल आषाढ १४ गते स्थानीय तहको निर्वाचन भई आषाढ २२ गते निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेपछि मात्र पदाधिकारी सहितको नगरपालिका बन्यो । स्थापना पश्चात भाडाको घर तथा नेउलापुर स्वास्थ्य चौकीको भवनमा सञ्चालित यस नगरपालिकाको कार्यालय वि. सं. २०७७ साल भाद्र २५ गतेबाट वडा नं. ४, सैनवारमा निर्माणनधीन आफ्नै भवनमा रही कार्य सञ्चालन गरिरहेको छ।